न्यूज1नेपाल संवाददाता
कञ्चनरूप, सप्तरी — नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा नवप्रवेशीको लहर जारी रहेको छ। बुधबार कञ्चनरूप–५ स्थित पथरीमा आयोजित गाउँ कमिटीको भेलामा जनमत पार्टीका वडा अध्यक्ष भरत प्रसाद साहको नेतृत्वमा ४३ जना एमालेमा प्रवेश गरेका छन्।
साहले जनमत पार्टी नातावाद, कृपावाद र सीमित व्यक्तिको स्वामित्वमा चल्न थालेको आरोप लगाउँदै देश र जनताको हितमा काम गर्ने एकमात्र पार्टी एमाले भएकाले आफूहरू सो पार्टीमा आबद्ध भएको बताए। उनले राष्ट्रिय हित र स्थायित्वका लागि एमाले नै विकल्प भएको दाबी गरे।
एमाले वडा कमिटी अध्यक्ष बालक चौधरीका अनुसार नवप्रवेशीहरूमा जनमत पार्टीसँगै जनता समाजवादी पार्टी, नेपाल र नेपाली कांग्रेस परित्याग गरेका कार्यकर्तासमेत रहेका छन्।
नवप्रवेशीहरूलाई एमालेका नेता तथा उम्मेदवार सुमनराज प्याकुरेलले अबिर लगाएर स्वागत गरेका थिए।
प्रतिनिधि सभाको आसन्न निर्वाचन नजिकिँदै जाँदा एमालेमा प्रवेश गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढिरहेको क्षेत्रीय संयोजक राजकुमार साहले जानकारी दिए।