न्यूज1नेपाल संवाददाता
कञ्चनरूप
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने क्रम बढ्दो देखिएको छ। सोमबार कञ्चनरूप नगरपालिका–८ मा प्रभुलाल यादवको नेतृत्वमा जनमत पार्टी परित्याग गरेका ५५ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई क्षेत्र नम्बर १ का उम्मेदवार सुमनराज प्याकुरेलले अबिरको टीका र गम्छा ओढाएर स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै प्याकुरेलले गरिब, किसान र मजदुरको हितमा काम गर्ने पार्टी एमाले भएको दाबी गरे। उनले लोकप्रिय तथा विकासमुखी बजेटमार्फत जनताको मन जित्ने शक्ति एमालेसँग रहेको उल्लेख गर्दै निर्धक्क भएर सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरे।
प्याकुरेलले आफू निर्वाचित भए जनताको हितमा समर्पित भएर काम गर्ने र जनताको शिर झुक्न नदिने प्रतिबद्धता व्यक्त गरे। यस्तैनव प्रवेशी प्रभुलाल यादवले देश र जनताको हितमा काम गर्ने विकासप्रेमी पार्टी एमाले भएकाले आफूहरू पार्टीमा प्रवेश गरेको बताए। उनले क्षेत्र नम्बर १ मा सुमनराज प्याकुरेल विकासप्रेमी उम्मेदवार भएकाले उनलाई समर्थन गरिएकाे स्पष्ट पारे।
कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको नगर पार्टीका नगर अध्यक्ष बच्चुलाल चाैधरीले बताए छ।