न्यूज1नेपाल संवाददाता
कञ्चनरूप
प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत कञ्चनरूप नगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय नजिकै रहेको फुलवारी रिसोर्ट परिसरमा प्रेसर कुकर बम फेला परेको छ।
बुधबार राति ८ बजे उक्त स्थानमा कुकरबम राखिएको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली तत्काल घटनास्थल पुगेको थियो। प्रारम्भिक जाँचका क्रममा प्रेसर कुकरमा तार जडान गरिएको अवस्थामा वस्तु भेटिएको सुरक्षा स्रोतले जनाएको छ। वस्तुको प्रकृति बम देखिएपछि क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ।
हाल नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थल सुरक्षित बनाउँदै उक्त शंकास्पद वस्तु निष्क्रिय पार्ने प्रक्रिया अघि बढाइरहेको छ। सुरक्षाकर्मीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै रिसोर्ट आसपासका घर तथा व्यवसायिक क्षेत्र खाली गराएर कडा सुरक्षा घेरा बनाएका छन्। स्थानीय प्रशासनले सर्वसाधारणलाई अनावश्यक भीडभाड नगर्न तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।
निर्वाचनको पूर्वसन्ध्यामा यस्तो घटना बाहिरिएपछि स्थानीयवासीमा त्रास फैलिएको छ। यद्यपि सुरक्षा निकायले स्थिति नियन्त्रणमा रहेको र सर्वसाधारण सुरक्षित रहेको जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको र शंकास्पद वस्तु राख्ने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
आगामी निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लाभर सुरक्षा व्यवस्था थप कडा पारिएको सुरक्षा निकायले जानकारी दिएको छ। यता एमालेमा उम्मेदवार सुमनराज प्याकुरेलले एमालेकाे जी भइसकेकाे संकेतले बिपक्षहरूले त्रसाउन याे गतिविधी गरेकाे खुलाउनु भयाे
उहाँले भन्नुभयाे याे गतिबिधिबाट याे थाहा हुन्छ,एमालेकाे यधपी मेराे जीत सुनिश्चित भइसकेकाे छ,याे कायरतापूर्ण धम्कीले हामी डराउदैनाै ।