न्यूज1नेपाल संवाददाता
२० फागुन, सप्तरी ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुर स्थित साइफनमा हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीय ६९ बर्षीय खड्गमति राई बुधबार साइफन नजिक हात्तीहात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी हुन् ।
स्थानीयको भनाइ अनुसार गोठालो गएकी राईलाई दिउँसो ३ बजे एक्कासी हात्तीले आक्रमण गर्दा भाग्न नसकेकोले घाइते भएकी हुन् ।
हात्तीको आक्रमणमा परि गम्भीर घाइते भएकी राईलाई स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । घाइते राईको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खुट्टा तथा चाकमा गम्भीर चोट लागेको राईको अवस्था गम्भीर रहेको उनका आफन्तले जनाएको छ । सोही हात्तीले स्थानीय एक पसलमा समेत तोडफोड गरि क्षति पुर्याएको कञ्चनरुप १२ का लिल बहादुर मगरले बताए ।