डम्वर राई
कञ्चनरूप – राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर मतगणनामा अग्रता लिएसँगै समर्थकहरूलाई विजय जुलुस ननमनाउन आग्रह गरेको छ। पार्टीका बरिष्ठ नेता तथा बालेन्द्र साह (बालेन) झापा–५ का उम्मेदवार रहेको सन्दर्भमा पनि संयमित रहन पार्टीले अपिल गरेको हो।
रास्वपाका उपसभापति डिपी अर्याल ले शुक्रबार साँझ एक भिडियो सन्देश सार्वजनिक गर्दै यो जीत कुनै एक पार्टीको मात्र नभई सम्पूर्ण नेपाली जनताको भएको बताए। उनले विजयको उत्साहमा जुलुस, हल्ला वा प्रदर्शन नगरी शान्त र संयमित ढंगले खुशी साटासाट गर्न समर्थकहरूलाई आग्रह गरे।
अर्यालले निर्वाचन परिणामले जनताको परिवर्तनको चाहना र विश्वास झल्किएको उल्लेख गर्दै त्यस भावनालाई सम्मान गर्नुपर्ने बताए। उनले जीतसँगै जनताको दुःख–सुख बुझ्दै जिम्मेवार ढंगले अगाडि बढ्नु नै पार्टीका लागि सबैभन्दा ठूलो प्राथमिकता रहेको स्पष्ट पारे।
“यो जीत रास्वपाको मात्र होइन, सम्पूर्ण नेपाली जनताको हो। त्यसैले विजय जुलुस निकालेर उत्सव मनाउनेभन्दा पनि जनताको भावना बुझ्दै शान्त वातावरण कायम राख्न सबैलाई अनुरोध गर्दछु,” उनले भिडियो सन्देशमा भने।
देशका विभिन्न स्थानमा रास्वपाले अग्रता लिइरहेको खबर सार्वजनिक भएसँगै समर्थकहरू विजय जुलुस निकाल्ने तयारीमा देखिएका थिए। तर पार्टी नेतृत्वले संयम र जिम्मेवारी देखाउँदै शान्तिपूर्ण वातावरण कायम राख्न सबै समर्थकलाई अपिल गरेको छ।