सुमन राई
जिल्ला प्रहरी कार्यालय सप्तरी मधेश प्रदेशमै प्रथम र देशभरी पाँचौँ स्थान हासिल गर्न सफल भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक गाैतम कुमार केसीले यस्ताे जानकारी दिएकाे हाे । 
उनले फागुन महिनाको प्रगति विवरण प्रस्तुत गर्दै प्रहरीकाे कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय सप्तरीले याे स्थान हासिल गरेकाे बताए । पत्रकारहरूलाई केसीले भने जिल्लामा शान्ति सुरक्षा कायम राखी अपराध, तस्करी नियन्त्रणसंगै सीमा सुरक्षा तथा सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकतामा राखेर हामीले काम गरिरहेका छाै ।
प्रगति बिवरण अनुसार नेपाल प्रहरीद्वारा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा २०८२ माघ महिनामा सप्तरी जिल्ला मधेश प्रदेशकै प्रथम र देशभरि पाँचौँ स्थानमा आएको हो । केसीले भने “जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने हाम्रो प्रयासमा सप्तरी प्रहरी चुकेको छैन ।”
उनले आफ्नो नेतृत्वको प्रहरी टोली, सञ्चारकर्मी तथा सप्तरीबासीको सहयोगका कारण यस्तो सफलता प्राप्त भएको उल्लेख गर्दै सबैप्रति धन्यवाद व्यक्त गरे। प्रहरी संगठनप्रति रहेको नकारात्मक धारणा अन्त्य गर्न प्रहरी प्रतिबद्ध रहेको तथा मातहतका कार्यालयमा अवैध लाभ लिएर काम गर्ने प्रवृत्ति अन्त्य गरिएको केसीले दाबी गरे ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको फागुन महिनाको प्रगति विवरण अनुसार अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ ६८ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ज्यानसम्बन्धी २७, आत्महत्या ९, चोरी ३, संगठित तथा आर्थिक अपराध ५, महिला तथा बालबालिका सम्बन्धी ४, सवारी ज्यान ४ र अन्य १६ मुद्दा रहेका छन्।
त्यसैगरी जघन्य तथा गम्भीर अपराधतर्फ मानव बेचबिखन १, बैंकिङ कसुर ५ र ठगी १ गरी ७ वटा मुद्दा दर्ता भएका छन्। एक वटा पेन्डिङ मुद्दा रहेकोमा उक्त मुद्दा पनि फर्छ्योट गरिएको प्रहरीले जनाएको छ।
अदालतको फैसला कार्यान्वयन अन्तर्गत ३४ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिइएको र उनीहरूबाट ५ वर्ष ६ महिना कैद तथा २ लाख ९३ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
यस अवधिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका उजुरी, हराएका तथा फेला परेका नागरिक, लागूऔषध नियन्त्रण तथा संलग्न व्यक्ति पक्राउ, सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रण लगायत प्रहरीले गरेका गतिविधिबारे प्रगति विवरणमा उल्लेख छ।
फागुन महिनामा विभिन्न शीर्षकका २ सय ९ उजुरीमध्ये १ सय ८८ वटा फर्छ्योट गरिएको र २१ वटा बाँकी रहेको उनले जनाएको छ। प्रत्यक्ष रूपमा प्रहरीमा परेका १ सय ४७ उजुरीमध्ये १सय ३४ फर्छ्योट भई १३ बाँकी रहेका छन् भने जिल्ला प्रशासन कार्यालयमार्फत आएका ६२ उजुरीमध्ये ५४ फर्छ्योट भई ८ बाँकी रहेको विवरणमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीसहित अन्य प्रहरी अधिकृतहरूको पनि उपस्थिति रहेको थियो।