कञ्चनरूप
चैत ७ । सप्तरीको कञ्चनरूप नगरपालिकाको मुख्य बजार क्षेत्रमा अनियन्त्रित भीडभाड तथा जथाभावी पार्किङलाई व्यवस्थित गर्न पहल थालिएको छ। बेरीयरदेखि बीपी चौकसम्म साना, ठूला तथा मझौला सवारी साधनको पार्किङलाई व्यवस्थित गर्ने उद्देश्यले शुक्रबार बिहानदेखि नयाँ व्यवस्था लागू गरिएको हो।
नगरप्रमुख ललन प्रसाद गुप्ता, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी राजन रायमाझी तथा ट्राफिक प्रहरीको संयुक्त टोलीले स्थलगत अनुगमन गर्दै व्यवस्थापन कार्य सुरु गरेका हुन्। बजार क्षेत्रमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङका कारण दैनिक जनजीवन प्रभावित हुँदै आएपछि यस्तो कदम चालिएको नगरपालिकाले जनाएको छ।
प्रहरी नायव उपरीक्षक राजन रायमाझीका अनुसार सर्वोदय स्कुल जाने मोडदेखि कञ्चनपुर बजार हुँदै मालपोत कार्यालयसम्मको क्षेत्रमा सडकको एकतर्फी साइडमा मात्र पार्किङ गर्न पाइने व्यवस्था गरिएको छ। साथै, प्रत्येक हप्ता पार्किङ गर्ने साइड परिवर्तन गरिने बताइएको छ, जसले ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, बजार क्षेत्रको भीड नियन्त्रण गर्न बिहान ५ बजेदेखि राति ८ बजेसम्म ट्रक र टिपर सञ्चालनमा रोक लगाइएको छ। ती सवारी साधनलाई वैकल्पिक रूपमा बीपी चौक–रूपनगर सडक प्रयोग गर्न आग्रह गरिएको छ।
नगर क्षेत्रमा नियमित ट्राफिक व्यवस्थापन कडाइका साथ लागू गरिने जनाइएको छ। यसबाट बजार क्षेत्रमा हुने जाम, दुर्घटनाको जोखिम तथा अव्यवस्थित पार्किङमा कमी आउने विश्वास गरिएको छ ।