सुमन राई
सप्तरी, कञ्चनरूप । कञ्चनरूप नगरपालिका–१२ ले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गरेको छ। शुक्रबार रूपनगरस्थित वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा ११ जना ज्येष्ठ नागरिक र ६ जना अपाङ्गता भएका व्यक्तिलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै विभिन्न आवश्यक सामग्री वितरण गरिएको हो।
सम्मानित व्यक्तिहरूलाई फाइबर सिरक, झुल, छाता, पानी तताउने इलेक्ट्रिक जग, हाते टर्चलाइट तथा यातायात खर्चबापत जनही ५ सय रुपैयाँ प्रदान गरिएको थियो। वडा अध्यक्ष देवीबहादुर खत्री, जनप्रतिनिधिहरू सीता पौडेल, जैनुद्धिन चुरौटे मियाँ, दीपक भट्टराई र जालपा विकले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए।
ज्येष्ठ नागरिकतर्फ गोमा देवी श्रेष्ठ, लक्ष्मीप्रसाद बञ्जरा, छत्रबहादुर मगर, दीपबहादुर थापा, टेकबहादुर दाहाल, विष्णुप्रसाद लामिछाने, सखावत मियाँ, इन्दु कुमारी बस्नेत, खड्गनारायण श्रेष्ठ, मधुनारायण श्रेष्ठ र ओमबहादुर पोखरेल सम्मानित भएका छन्।
त्यसैगरी अपाङ्गता भएका व्यक्तितर्फ महेशकुमार थापा, बेचनकुमारी पोखरेल, सिमरन प्रविण, अफसाना खातुन, निरजकुमार केसी र सुहाना खातुन सम्मानित भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी नारायण मिश्रले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक भएकाले उनीहरूको सम्मान र संरक्षण प्रत्येक समुदायको दायित्व भएको बताए। उनले वृद्धवृद्धा तथा अशक्त व्यक्तिलाई लाठी प्रदान गर्दै पाको उमेर र अशक्त अवस्थाका नागरिकका लागि लाठी महत्वपूर्ण सहारा हुने उल्लेख गरे।
वडा अध्यक्ष खत्रीले कार्यक्रम जाडो याममै सञ्चालन गर्ने योजना भए पनि केही प्राविधिक कारणले ढिलाइ भएको जानकारी दिए। उनले राज्यले उपलब्ध गराउँदै आएको सेवा–सुविधाबाट ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई वञ्चित हुन नदिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार वडाभित्रका ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक सचिव डम्बर राई, कार्यपालिका सदस्य सीता पौडेल तथा वडा सदस्य जैनुद्धिन चुरौटे मियाँलगायतले मन्तव्य व्यक्त गर्दै सम्मानित व्यक्तिहरूप्रति शुभकामना व्यक्त गरेका थिए। कार्यालय सचिव द्वारिका निराैलाले कार्यक्रम सञ्चालनकाे क्रममा कार्यक्रमकाे बारेमा र सम्मानकाे बिषयमाथि प्रकाश पार्नु भयाे ।