सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३, पोर्ताहास्थित रोयल सेकेन्डरी स्कुलमा विजया दशमी, दीपावली, छठ तथा सामाचकेवा पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा दोस्रो त्रैमासिक परीक्षामा नर्सरीदेखि कक्षा १० सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी, विद्यालय प्रथम हुने विद्यार्थी तथा शतप्रतिशत उपस्थिति जनाउने छात्रछात्रालाई पुरस्कार वितरण गरिएको थियो। उनीहरूलाई कक्षाशिक्षक, विद्यालयका प्रिन्सिपल तथा प्रमुख अतिथिले पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक तथा प्रिन्सिपल देव नाथ यादवले गरेका थिए भने मधेस प्रज्ञा प्रतिष्ठानका सदस्य देवनारायण माझी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, विशिष्ट अतिथिका रूपमा मधेस प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादव तथा मधेस न्यूजका वरिष्ठ पत्रकार भूपदेव माली सहभागी थिए।

कार्यक्रममा विद्यालयका शिक्षकशिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशेषगरी कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई आकर्षक बनाएका थिए।
विद्यार्थीहरूले मैथिली लोकगीत, नृत्य, झिझिया, छठ गीत तथा सामाचकेवा गीतमा आधारित सांस्कृतिक प्रस्तुति दिएका थिए। विविध सांस्कृतिक प्रस्तुतिले नेपाली समाजको मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्त्व झल्काएको थियो।
विद्यालयका नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको कार्यक्रममा वक्ताहरूले विद्यार्थीको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै अनुशासन, मेहनत र निरन्तर अध्ययनले सफलताको मार्ग प्रशस्त गर्ने बताए।
कार्यक्रम पुरस्कार वितरण, सांस्कृतिक प्रस्तुति तथा शुभकामना आदानप्रदानसँगै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।