• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार साहित्य

‎सप्तरीमा आदिवासी जनजाति साहित्य महोत्सव सुरु

img

‎सुमन राई
‎कञ्चनरूप । सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गंगाजलीमा आदिवासी जनजाति साहित्य महोत्सव २०८३ सुरु भएको छ। मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभकर्णले महोत्सवको उद्घाटन गर्नुभएको हो। सप्तकोशी नगरपालिका–५ नम्बर वडा कार्यालयको आयोजनामा सुरु भएको महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ।
‎महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख लाभकर्णले आदिवासी जनजाति समुदाय यस देशका मूलवासीका रूपमा चिनिने उल्लेख गर्दै उनीहरूको विशिष्ट पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण आवश्यक रहेको बताउनुभयो। उहाँले राज्य निर्माणदेखि व्यवस्थापन तथा लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आदिवासी जनजाति समुदायले महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो।
‎महोत्सवमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव विमल सारू मगर, मधेश प्रदेशसभा सदस्य एवं पूर्वगृहमन्त्री राजकुमार लेखी, प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, थारू आयोगका अध्यक्ष सुबोध सिंह, प्राध्यापक डा. पासाङ डोल्मा शेर्पा र आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष लक्की चौधरीलगायतले आदिवासी जनजातिको पहिचान, अधिकार र सांस्कृतिक संरक्षणका विषयमा धारणा राख्नुभएको थियो।
‎वक्ताहरूले आदिवासी जनजातिका भाषा, साहित्य, कला, संस्कृति, परम्परा र ऐतिहासिक योगदानको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले समुदायको पहिचानलाई सम्मान गर्दै हकअधिकार सुनिश्चित गर्न तथा भावी पुस्तामा मौलिक संस्कृति हस्तान्तरण गर्न यस्ता महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
‎वडाध्यक्ष गोसाई चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा विभिन्न जातीय संगठनका अध्यक्ष तथा प्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, युवा तथा महिलाको उल्लेख्य सहभागिता थियो। विभिन्न जातीय संगठनले झाँकी र र्‍यालीसहित सहभागिता जनाएका थिए।
‎पत्रकार तथा आदिवासी जनजाति अगुवा बुजमान तामाङ र आदिवासी जनजाति नेतृ सरिता चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। महोत्सवले आदिवासी जनजाति समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक योगदानको प्रवर्द्धन गर्दै पहिचान तथा अधिकारसम्बन्धी बहसलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी