• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

बलान बिहुललाई स्वच्छ, सुन्दर र समृद्ध गाउँ बनाउने अभियान सुरु

img

‎डम्बर राई

‎कञ्चनरूप/सप्तरीको बलान बिहुल गाउँपालिकालाई स्वच्छ, सुन्दर, समृद्ध र आत्मनिर्भर गाउँपालिकाका रूपमा विकास गर्ने उद्देश्यसहित विशेष विकास परियोजना सञ्चालन गरिएको छ। ‘समृद्ध गाउँ, सुखी समुदाय’ भन्ने लक्ष्यसहित स्थानीय स्रोत, हरियाली, रोजगारी, संस्कृति, पर्यटन र विकासलाई प्राथमिकतामा राखेर परियोजना अघि बढाइएको हो।

‎जिल्लामै पहिलोपटक बलान बिहुल गाउँपालिकामा लागू भएको यस परियोजनाले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ। परियोजनाअन्तर्गत सम्झौताअनुसार गत वर्ष नै प्राप्त भएका विभिन्न सामग्री मंगलबार औपचारिक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ।

‎गाउँपालिका–६ सेरहास्थित जागेश्वर गरहाई (प्राविधिक) जनता माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयलाई ११० थान डेस्क–बेन्च, १ हजार १०० विद्यार्थीलाई स्कुल ब्याग, एक थान सेतोपाटी तथा कार्यालय प्रयोजनका लागि एक थान कपडा धुने मेसिन हस्तान्तरण गरिएको छ। त्यसैगरी गाउँपालिकाका ६ वटै वडामा रहेका बर्थिङ सेन्टरलाई दुई/दुई थान एसी मेसिन उपलब्ध गराइएको छ। वडा नम्बर ४ स्थित बेल्हीमा पानी प्रशोधन केन्द्र (वाटर ट्रिटमेन्ट प्लान्ट) जडान गर्ने कार्यसमेत हस्तान्तरण गरिएको छ।

‎कार्यक्रमका प्रमुख अतिथि मधेशी आयोगका प्रथम अध्यक्ष विजयकुमार दत्तले स्थानीय सरकारले चासो लिएर योजना बनाई काम गरे परियोजनामार्फत कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भित्र्याउन सकिने बताउनुभयो। समयअनुसार स्थानीय तहले पहल गर्न सके गाउँको विकास सम्भव हुने उहाँको भनाइ थियो।

‎चिनियाँ दूतावासको सहयोग रहने यस परियोजना भित्र्याउन आफ्नो तर्फबाट माथिल्लो तहमा पहल गरिएको र स्थानीयस्तरमा पूर्वप्रधानाध्यापक दिनेश्वर यादवको महत्त्वपूर्ण भूमिका रहेको दत्तले उल्लेख गर्नुभयो। उहाँले परियोजनालाई साथ दिएको भन्दै गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवलाई धन्यवादसमेत दिनुभयो।

‎गाउँपालिका अध्यक्ष यादवले परियोजना गाउँको विकास र मुहार परिवर्तनका लागि महत्त्वपूर्ण रहेको बताउँदै आफ्नो तर्फबाट आवश्यक सहयोग र समन्वय जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‎कार्यक्रममा चिनियाँ दूतावासका राजनीतिक विभाग प्रमुख यु चेंगपेंगलाई गाउँपालिकाको नक्सा र मायाको चिनो प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सोही अवसरमा दूतावासका तर्फबाट परियोजनासम्बन्धी कार्यपत्र गाउँपालिका अध्यक्ष यादवलाई हस्तान्तरण गरिएको थियो।

‎समारोहमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा अन्य व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा परियोजनाको व्यवस्थापन इन्जिनियर शिवाङ्ग दत्तले गर्नुभएको र यसको सक्रिय पहलमा पूर्वप्रधानाध्यापक दिनेश्वर यादव जुट्नुभएको थियो। कार्यक्रममा चिनियाँ दूतावास तथा परियोजनाका प्रतिनिधि, स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी र सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो।

‎सम्झौताअनुसार परियोजनाका बाँकी कामसमेत निरन्तर सञ्चालन गरिने जनाइएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी