• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मधेश राजनीतिको विघटन कि पुनर्गठन

img

मधेश राजनीतिको विघटन कि पुनर्गठन ?

तराई–मधेशको राजनीतिलाई इतिहासको फल्चामा बसेर नियाल्दै अहिलेका चुनावी परिणामसँग तुलना गर्दा एउटा प्रश्न ज्वलन्त भएर उब्जिन्छ कि अब मधेशको राजनीति कता जाला ? यो विघटनको दिशातिर जान्छ कि नयाँ ऊर्जा र सामर्थ्यका साथ पुनर्गठन हुनेछ ?

इतिहासमा निकै जागरणमुखी आन्दोलन र राजनीतिक रूपान्तरणको संघर्षमा होमिएको तराई–मधेश सधैं राज्यसत्ताको दमन र उत्पीडनमा पर्‍यो । सन् १९५० देखि २०१५ सम्मको नेपाली राजनीतिको इतिहासमा भएका सबै प्रकृतिका क्रान्ति, संघर्ष, आन्दोलन एवं विद्रोहमा तराई–मधेशको योगदान उच्च छ । मधेशका वीरगञ्ज, जनकपुर, राजविराज, जलेश्वर, विराटनगर, भैरहवा तथा नेपालगञ्ज जस्ता केही दक्षिण नेपालका पुराना शहरहरूले सन् १९५० कै क्रान्तिलाई नयाँ उचाइमा पुर्‍याएका थिए भने जनयुद्ध र त्यसपछिका सबै पहिचान र अधिकारका लागि भए/गरिएका संघर्षहरूमा मधेशको योगदान उच्च छ ।

तर, ती शहरहरूमध्ये एकाधलाई छाडेर अहिले सबै गुमनाम झैं भएका छन् । आखिर राजनीतिक परिवर्तनको आन्दोलनमा गौरवमय इतिहास रचेका ती शहरहरू किन गुमनाम भए ? आज किन ती शहरहरूको शान, सौकत र वैभव मूर्झाउन पुग्यो ? मधेश राजनीतिको विमर्श गर्दै गर्दा यी र यस्तै प्रश्नहरू पनि पर्गेल्नै पर्छ ।

मधेशको अर्थ-राजनीतिक जटिलता नै यहाँ व्याप्त तेहरो शोषण हो । यहाँका गरिब र उत्पीडित जनता उतिबेलादेखि नै राज्य, समुदाय र छिमेकी (भारत)को मिचाहा प्रवृत्तिको तेहरो शोषण भोग्न विवश छन् । उनैलाई थाहा छ, देशभित्रै पनि देशवासी हुन नसक्नुको पीडा । उनैलाई थाहा छ, एकल सामुदायिक वर्चस्ववादी सोचयुक्त सत्ताबाट शोषित हुनुको व्यथा । अनि उनैलाई थाहा छ, आफ्नै समुदायका केही टाठाबाटा रैथाने शासकहरूबाट पनि भोग्नुपरेका सजातीय उत्पीडन । अनि तिनैलाई थाहा छ, सीमा अतिक्रमणबाट भोग्नु पर्दाको कहर ।

वास्तवमा तराई–मधेशका सीमावर्ती गाउँका नागरिकका लागि आफ्नो कोही भएनन् । उनीहरूका लागि न त देश नै आफ्नो छ, न समुदाय नै । न त राज्य नै आफ्नो छ, न पार्टी नै । झन् कालो छालालाई नै विदेशी करार गरिदिने काठमाडौंकेन्द्रित चिन्तनले त त्यहाँको समस्याको चाङ देख्ने कुरै भएन । परिणामस्वरूप रोग, भोक र शोक नै दक्षिणी सीमाञ्चल क्षेत्रका नागरिकहरूको दैनिकी बन्दा पनि रैथानै सत्ताले सो कुरा देखेन । जब नजिकको सत्ताले आफ्ना कुरा देख्दैन, बुझ्दैन र सुन्दैन भने विकल्पको खोजी त हुन्छ नै । हो, मधेशका जनताले आफ्नो मन र मत बदलेर यसपटक विकल्प खोजेका हुन् ।

यहाँका अनगिन्ती समस्या र दैनिक जीवनमा आइपर्ने उल्झनहरूकै कारण तराई–मधेशमा कुनै न कुनै जागरणको आन्दोलन चलिनै रहन्छ । राजनीतिको विघटन र पुनर्गठन पनि चलिनै रहन्छ । इतिहासमा धेरै त्यस्ता रैथाने दल र नेतृत्व जन्मिइसकेका छन्, जसले समयको पदचाप ठम्याउन नसक्दा इतिहासको गर्तमा विसर्जन हुनुपरेको थियो । अहिलेको निर्वाचनको संक्षिप्त सन्देश पनि यही हो कि यहाँका रैथाने शक्तिहरू सच्चिएर जनमुखी नभए विसर्जन अवश्यंभावी छ । अनि मधेश राजनीतिको विघटन वा पुनर्गठनको लक्ष्मणरेखा पनि यहाँका रैथानै पार्टीहरूले अवलम्बन गर्ने कार्यदिशामा निर्भर हुनेछ । किनकि मधेशको चरित्र पनि यथास्थिति हैन, परिवर्तन नै हो र हुनेछ ।अनलाइन खबर वाट सम्भार

img

Share: