• img
  • img
img img img
Categories
प्रदेश समाचार

‎सरकारको कार्यशैलीप्रति पूर्वमन्त्री यादवको असन्तुष्टि

img

सुमन राई

‎राजविराज, ०८ भदौ । नेपाली कम्युनिष्ट पार्टीका मधेस प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री महेन्द्र राय यादवले वर्तमान सरकार जनताको अपेक्षानुसार अघि बढ्न नसकेको आरोप लगाएका छन्। उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै किसान,दलित,मधेसी,आदिवासी जनजाति,थारु तथा मुस्लिम समुदायका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टी सप्तरीको जिल्ला पार्टी एकता तथा समायोजनसँगै सोमबार राजविराजमा आयोजित एकदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री यादवले किसानले मलखादको अभाव झेलिरहँदा समेत सरकारले प्रभावकारी पहल गर्न नसकेको बताए।“किसान मलखाद नपाएर समस्यामा छन्, तर उनीहरूको समस्या समाधान गर्न सरकार मौन देखिएको छ,” उनले भने।‎सरकारको कार्यशैलीका कारण जनतामा असन्तुष्टि बढ्दै गएको दाबी गर्दै उनले जनभावनालाई सम्बोधन गर्दै काम गर्न सरकारलाई आग्रह गरे। यादवले देशमा समानता र सामाजिक न्याय कायम नभएसम्म दलितलगायत उत्पीडित समुदायको अधिकार पूर्ण रूपमा सुनिश्चित हुन नसक्ने बताए। नेपाली कम्युनिष्ट पार्टी दलित, आदिवासी जनजाति, थारु, मुस्लिम तथा अन्य उत्पीडित समुदायको अधिकारका लागि निरन्तर संघर्षरत रहने उनको भनाइ थियो।

‎मधेसी जनताले लामो संघर्षपछि केही अधिकार प्राप्त गरे पनि अझै पूर्ण न्याय पाउन नसकेको उल्लेख गर्दै उनले अधिकारसँगै न्याय प्राप्तिका लागि संगठित संघर्ष आवश्यक रहेको बताए।

‎कार्यक्रममा पार्टीका मधेस प्रदेश संयोजक राजु खडकाले राजनीतिक आन्दोलन र पार्टी निर्माणमा मधेसी जनताको महत्वपूर्ण योगदान रहेको बताए। उनले पार्टीलाई थप सुदृढ, संगठित र जनमुखी बनाउन नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

नेपाली कम्युनिष्ट पार्टी सप्तरीका जिल्ला संयोजक प्रताप नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सहसंयोजक छत्रबहादुर श्रेष्ठले जिल्ला, गाउँ तथा वडा तहसम्म संगठन विस्तार गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए। कार्यक्रममा मधेस प्रदेश सहइन्चार्ज श्रीप्रसाद साह, सप्तरी जिल्ला इन्चार्ज सूर्यनाथ यादव, केन्द्रीय सदस्य तथा सहइन्चार्ज उषा पोखरेललगायतले पार्टी संगठन सुदृढीकरण,एकता र आगामी राजनीतिक कार्यदिशाबारे धारणा राखेका थिए।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी