सुमन राई । नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा सप्तरीको कञ्चनरूप नगरपालिका–९ स्थित रूपनगर चोक परिसरमा प्रथम मिनी महोत्सव–२०८३ सुरु भएको छ। कञ्चनरूप नगरपालिका–१२ स्थित धर्मेश्वर युवा क्लबले आयोजना गरेको महोत्सवबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
१५ दिनसम्म सञ्चालन हुने महोत्सवमा गीत, संगीत तथा नृत्यका प्रस्तुतिसँगै विभिन्न खेल र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। महोत्सवमा बालबालिकाका लागि विभिन्न खेल सामग्री, मनोरञ्जनका साधन तथा खानाका विभिन्न परिकारको समेत व्यवस्था गरिएको आयोजक समूहका सुरेन्द्र तामाङले जानकारी दिनुभयो।
तामाङका अनुसार महोत्सवमा प्रत्येक दिन राष्ट्रियस्तरका कलाकारहरूले गीत, संगीत तथा नृत्य प्रस्तुत गर्नेछन्। महोत्सवमा नेपालका ख्यातिप्राप्त कलाकारहरू ज्योति मगर, एलिना चौहान, धीरज राई, कमल खत्री, रचना रिमाल, ममता चौधरी, अनु चौधरी, अञ्जु खुश्मी र आस्मा विश्वकर्मालगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ।
स्थानीय युवा नेता केवल खत्रीले नेपालीहरूको महान् चाड बडादसैँलाई लक्षित गरी आयोजना गरिएको महोत्सवले स्थानीय क्षेत्रमा उत्साह थप्ने बताउनुभयो। उहाँले महोत्सवलाई सफल बनाउन सबै पक्षले सहयोग र संरक्षण गर्नुपर्नेमा जोड दिँदै यसको आकर्षण बढाउन स्थानीयवासी तथा सरोकारवालालाई सहयोग गर्न आग्रह गर्नुभयो।
आयोजकका अनुसार असोज २६ गतेदेखि सुरु भएको महोत्सव आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ। महोत्सवले स्थानीयस्तरमा मनोरञ्जनका अवसर सिर्जना गर्नुका साथै चाडपर्वको उल्लासलाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।