कञ्चनरूप, सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–२ बरमझियास्थित प्रसिद्ध माँ दुर्गाकाली मन्दिरमा दर्शन तथा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको छ। वर्षैभरि पूजाआराधना, कबल तथा भाकल बुझाउन भक्तजन आउने यस मन्दिरमा दसैँको घटस्थापनादेखि विशेष चहलपहल बढ्ने गरेको छ।
परापूर्वकालदेखि नै धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित यस मन्दिरमा मनोकामना पूरा हुने विश्वासका साथ भक्तजन आउने गरेको स्थानीयवासी बताउँछन्। बरमझिया चोकको पूर्वपट्टि नजिकै अवस्थित यस काली मन्दिरमा आफ्नो मनोकामना पूरा होस् भनी पूजा गर्ने र भाकल गर्नेको संख्या उल्लेख्य रहेको स्थानीयको भनाइ छ।
मन्दिरमा दसैँका अवसरमा विशेष पूजाआराधना हुने गरेको छ। यहाँ भाकल पूरा भएपछि बोका तथा राँगाको बलि दिने परम्परासमेत रहिआएको छ। हरेक वर्ष सयौँको संख्यामा भक्तजनले बलि दिने गरेको बताइन्छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस मन्दिरप्रति स्थानीयवासीको गहिरो आस्था रहे पनि यसको उचित प्रचारप्रसार र व्यवस्थापन हुन नसक्दा अपेक्षित रूपमा देश–विदेशमा परिचित हुन नसकेको सरोकारवालाको भनाइ छ।
मन्दिर सञ्चालन तथा व्यवस्थापनका लागि विधिवत् रूपमा समिति गठन भए पनि यसको विकास र पूर्वाधार विस्तारमा सरकारी निकायबाट पर्याप्त बजेट तथा सहयोग प्राप्त हुन नसकेको मन्दिर सञ्चालन समितिका अध्यक्ष विकासप्रसाद गुप्ताले बताउनु भयाे।
मन्दिरको बृहत्तर विकासका लागि स्थानीय सरकारसँग बजेट माग गर्दा पनि अपेक्षित चासो नदेखाइएको अध्यक्ष गुप्ताको गुनासो छ। मन्दिरको धार्मिक महिमाअनुसार पूर्वाधार निर्माण, सरसफाइ, व्यवस्थित पूजा व्यवस्थापन र प्रचारप्रसारमा ध्यान दिन सके यसको महत्त्व अझ विस्तार हुने उहाँको विश्वास छ।
स्थानीय तथा सम्बन्धित निकायले मन्दिरको
संरक्षण, संवर्द्धन र प्रचारप्रसारमा प्राथमिकता दिन सके धार्मिक पर्यटनको सम्भावनासमेत बढ्ने देखिन्छ। आवश्यक पूर्वाधार र प्रभावकारी व्यवस्थापन गर्न सके बरमझियाको माँ दुर्गाकाली मन्दिरमा देशका विभिन्न स्थान तथा विदेशबाट समेत श्रद्धालु भक्तजन आउने वातावरण बन्न सक्ने विश्वास गरिएको छ।