सुमन राई
कञ्चनरूप । सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा कुल १ लाख १९ हजार ५ सय ८१ मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालय सप्तरीले भदौ १५ गतेसम्म संकलन गरेको मतदाता नामावलीसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै उक्त विवरण सार्वजनिक गरेको हो।
कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रहेका पाँचवटै पालिकाको छुट्टाछुट्टै मतदाता विवरणसमेत सार्वजनिक गरिएको छ।
तथ्याङ्कअनुसार सप्तकोसी नगरपालिकामा पुरुष ८ हजार ८ र महिला ७ हजार ८ सय ८० गरी १५ हजार ८ सय ८८ मतदाता रहेका छन्। त्यस्तै, कञ्चनरूप नगरपालिकामा पुरुष १९ हजार ४ सय १६ र महिला १८ हजार ४ सय ४४ गरी कुल ३७ हजार ८ सय ६० मतदाता छन्।
यसैगरी तिरहुत गाउँपालिकामा पुरुष ८ हजार १ सय ७४ र महिला ७ हजार १ सय १२ गरी १५ हजार २ सय ८६ मतदाता रहेका छन्। हनुमाननगर कंकालिनी नगरपालिकामा पुरुष १६ हजार ५ सय ४६ र महिला १३ हजार ९ सय ८५ मतदाता गरी ३० हजार ५ सय ३१ मतदाता रहेको कार्यालयले जनाएको छ।
अग्निसाइर कृष्णासवरण गाउँपालिकामा पुरुष १६ हजार ५ सय ४६ र महिला १३ हजार ९ सय ८५ गरी कुल ३० हजार ५ सय ३१ मतदाता रहेको विवरणमा उल्लेख छ।
निर्वाचन स्थल ८० वटा
निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत सप्तकोसीमा ११, कञ्चनरूपमा २५, तिरहुतमा ११, अग्निसाइर कृष्णासवरणमा १२ र हनुमाननगर कंकालिनीमा २१ वटा मतदान स्थल रहेका छन्।
कार्यालयले साविकका मतदान स्थल यथावत् राख्ने तथा आवश्यकताअनुसार स्थानीयस्तरमा छलफल गरी केही मतदान स्थल तथा केन्द्रमा फेरबदल गर्न सकिने जनाएको छ।