• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

‘मत किन्ने’चलखेल, मदिरा र मासुको बिक्री बढ्यो

img

२० मंसिर, सप्तरी । निर्वाचनलाई ध्यानमा राखी जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । तर २ दिनयता सबभन्दा बढी मदिराको व्यापार भएको सप्तरीका थोक बिक्रेताहरूले बताएका छन् । ग्रामीण क्षेत्रमा एक साताअघिसम्म सानासाना कुखुरा मासु पसलमा २–३ वटा कुखुराको मासु बिक्री गर्न धौधौ हुन्थ्यो । अहिले दर्जनभन्दा बढी कुखुरा बेच्न मासु पसले भ्याउँछन् । मदिरा र मासुको बिक्री बढ्नुले राजनीतिक गतिविधि र आर्थिक सक्रियता बढेको पुष्टि गर्छ ।

अर्कातिर मौन अवधिमै उम्मेदवारहरूको घरघर र कार्यालयमा समर्थकहरूको भीड लाग्न थालेको छ । बुथ खर्चका लागि मात्र होइन, भोट खरिदबिक्रीका लागि पनि मोलमोलाइ सुरु भएको छ । ‘मसित पूरै टोलको भोट छ, मेरो परिवारमै ५० मत छ, मेरो टोलमा प्रभाव छ’ भन्दै टोलबस्तीका अगुवाहरूले रकमको बार्गेनिङ सुरु गरेका छन् । उम्मेदवारहरू पनि अरूले थाहा नपाउने गरी रकम दिन थालेका छन् । एउटाले रकम नदिए अर्को उम्मेदवारको ढोका ढकढक्याउनेको पनि कमी छैन ।

‘अधिकार, विकास, नेतृत्व, मुद्दालगायत विषय पछि पर्‍यो,’ एक उम्मेदवारले नाम नछाप्ने सर्तमा भने, ‘निर्वाचन धेरै महँगो भयो, धेरैजना पैसाकै आकांक्षी छन् ।’ निर्वाचनका बेला पैसामा भोट खरिद गर्नु, भोजभतेर गर्नुलगायतका कार्य आचारसंहिता विपरीत भए पनि उम्मेदवारहरूले टोलबस्तीपिच्छे समर्थकलाई भोज दिन थालेका छन् ।

कतै टोलबस्तीमा सामूहिक रूपमै सामग्री खरिदका लागि त कतै देउताको नाममा पनि पैसा लिन थालिएको छ । यस्तै कतै संख्यात्मक रूपमा मत गनाउँदै सोबापत रकम दिए भोट पक्का भन्दै पनि रकम लिनेहरूको संख्या अत्यधिक छ । ‘के गर्नु नदिए सुखै छैन,’ ती उम्मेदवारले भने, ‘सामान्य खर्च त परै जाओस्, आफ्नै मतको मूल्य नै माग्न थालेपछि भोट लिनै पर्‍यो नि ।’

सामूहिक रूपमा टोलमा भोजभतेर गर्न भाडाबर्तन खरिद, देउताको घरमा साउन्ड सिस्टम खरिद, बाद्यवादनको सामग्री खरिद, टोलबस्तीका लागि सामूहिक रूपमा कुर्सी, पाल खरिद, देउताको घर निर्माण भन्दै मतदाताहरूले उम्मेदवारसमक्ष रकमको प्रस्ताव गर्ने गरेका छन् ।

नेताहरू चुनाव जितिसकेपछि फर्केर नआउने गरेका कारण मतदाता पनि चुनावकै बेला तान्न सक्ने भन्दै रकमको प्रस्ताव गर्ने गरेको एक मतदाताले बताए । ‘जितेपछि फर्केर आउँदैनन् के गर्ने बेला यही हो, उनीहरू त करोडौं कमाउँछन्, हामीले त केही लिनैपर्‍यो नि ।’

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी