• img
  • img
img img img
Categories
साहित्य

पुस्तक समीक्षा : सरस्वती ज्ञवालीको लालटिनको उज्यालो

img

लालटिनको उज्यालोमा’ एउटी महिलाको आत्मकथा हो । जसको राजनीतिक योगदान महत्वपूर्ण छ । असल श्रीमती, कुशल गृहणी अनि जिम्मेवार र कर्तव्यनिष्ठ आमाको कथा । एउटा जागिरेको कथा । स्वाभिमानी महिलाको कथा ।

क्षमतावान र सक्षम भए पनि श्रीमानको प्रगति र उन्नतिका लागि एक कदमपछि बसेर सहयोग गर्ने सहयात्रीको कथा । महिला पुरुषको योगदान, अधिकार र दायित्व समान हुनुपर्छ भन्ने समविकासको सिद्धान्त अँगालेकी महिलाको कथा ।

पञ्जायती शासनविरुद्धको आन्दोलनमा सक्रिय हुँदाको पीडा, जागिरका सिलसिलामा राजनीतिक खिचातानीका कारण आफुले भोगेको सास्ती, अनि अपाङ्ग छोरी जन्मिदाको पीडाको साथै उसको हेरचाह लगायतका अनुभव किताबमा समावेश छन् । लालटिनको उज्यालोमा एउटी महिलाको आत्मकथा मात्रै नभई तात्कालीन सामाजिक राजनीतिक परिवेशको दस्तावेज पनि हो ।

विष्णु पौडेल, रघु पन्त, टंक कार्की, विष्णु प्रभात, शान्त मानवि, प्रदीप ज्ञवाली , दलबहादुर राना लगायत आत्मकथामा उल्लेख भएका पुरुष सँगै वामपन्थी आन्दोलनमा यिनको पनि समानान्तर योगदान छ । तात्कालीन समयमा राजद्रोहको रुपमा हेरिएको राजनीति गर्नु अहिलेको जस्तो सजिलो थिएन ।

विशेष गरेर वामपन्थी विचारधारा गाउँगाउँमा, टोलटोलमा, कुना काप्चामा, पहाड र वेशीमा पुर्‍याउनुको साथै भुमिगत आन्दोलनलाई शसक्त पार्न क्लेस बाँकी राखिन् उनले । बाबुआमाले बिहे गर्दिन लागेपछि पढ्नका लागि घरबाट भागेर तान्सेन पुग्नु, आफूले पढाउने स्कुलमा दरबन्दी र तलबको माग गर्दै काखमा बच्चा र हातमा बलेको लालटिन लिएर दिउँसै आन्दोलन गर्नुबाट उनको क्रान्तिकारी प्रवृति सानैदेखि थियो भन्ने स्पष्ट पारेको छ ।

पारिश्रमिकका लागि न्यायका लागि अनि शिक्षाका लागि आज भन्दा झण्डै तीन दशक अगाडि -०४५ साल) दिउँसै लालटिन बालेर विद्रोहमा उत्रनु चानचुने कुरा होइन/ थिएन । त्यो संघर्ष, त्यो क्रान्ति अनि त्यो अदम्य आत्मविश्वास र साहस ले नै उनलाई अहिलेकी सरस्वती बनायो । लेखक आफैं भन्छिन् “त्यही लालटिनको उज्यालोमा देखिएको सानो गोरेटो नै पो मेरो जीवनको मूलबाटो थियो कि?” (पृष्ठ ७)

कक्षा ९ मा पढ्दा तानसेनस्थित गणेशमानको कारखानामा शिल्पकारबाट सुरु भएको उनको जागिरको यात्रा पनि सन्तोष जनक रहेन । प्रावि निमावि,बोर्डिङ स्कुल, सिलाई बुनाईको प्रशिक्षक लगायत १२ बर्षमा ११ वटा जागिर गरिन् । विरालाले छाउरा सारे झै आफ्नो जागिर सारिएकोमा उनी साहृै दुखित छन् ।

परिवारको जिम्मेवारी,जागिरको तनाब, संगठनका साथीको व्यवहार, खुट्टा तान्नेहरुका भीडका बीच श्रीमान्को पूणिर्माको जुन झुल्के जस्तो उपस्थिति र सान्निध्य ।

“बहुदल आएको यत्रो बर्षमा पनि मेरो लोग्ने यो हो भनेर कुनै दिन संगै हिड्न मौका पाईएन । मान्छे हो, सर्वसाधरण मान्छे जस्तै नेताकी स्वास्नीको पनि यौवन हुँदोरहेछ । संगै बस्ने, संगै हिड्ने रहर लाग्दो रहेछ । आफ्नो पि्रय जीवन साथीको याद आउँदोरहेछ ।”(पृष्ठ १२६)

उही व्यस्तता, पुणिर्माको जुन र औसीको रात जस्तो श्रीमान श्रीमतीको भेटघाट । एउटी यौवनाको रहर, समाजमा समय सन्र्दभ अनुसार आउने तिखा टिप्पणी सबैले कुस्ती खेल्थे मनभित्र तर उनले कहिलेही बाहिर निस्कन दिइनन् ।

नवलपसारीको दुम्किबासको बसाई उनको साहृै दुखद बन्यो ।

उनको भूमिगत यात्रा अनुभव कम्ता कष्टदायक र पीडादायक छैन । संगठन विस्तारका लागि नया स्थानमा जाँदा पछ्यौरी भित्र लुकाएर लाईटको उज्यालोमा कागजमा नक्सा हेरेको, बाटो बिराएको, रातविरात जंगलको यात्रा । शाहसको नाउमा उनले गरेको दुस्साहसलाई पढ्दै जाँदा “ओहो ! क्या हट्टी महिला, निडर, आत्मविश्वासी, स्वाभिमानी ! त्यति त केटा मान्छेेले पनि गरेनन् होला ।” भन्ने विचार उब्जिन्छ । तर लेखककै शब्दमा छुचुन्द्रे प्रवृतिको सामना उनले पाईला पाईलामा गर्नुपर्‍यो  ।

पञ्चायत विरोधी आन्दोलन चलिरहेका बेला श्रीमान् (प्रदीप ज्ञवाली) का पुस्तक, चिठी पत्र फोटो सबै लुकाउने क्रममा उनी गोठको लिस्नुबाट खसिन् । दुई जिउकी थिइन् । लिस्नु आफै माथि परेपछि उनले ६ घण्टा होस गुमाईन् । अहिले जस्तो तुरुन्तै अस्पताल लान संभव थिएन । पछि बच्चा (छोरी क्षितिज) असामान्य जन्मियो । मस्तिष्क पक्षघात भएछ । अहिले उनी ३० बर्ष कि भएकी छन्, सरस्वतीकी एकान्तकी साथी ।

जन्मघर र कर्मघर दुवैमा राजनीतिक वातावरण मिलेकाले उनलाई आफ्नो यात्रा केही सहज त बनायो तर बाहिरी दुनियाँ भिन्न थियो । अब मस्तिष्क पक्षघात भएकी असामान्य छोरीको रेखदेखको जिम्मेवारी पनि । आन्दोलनका क्रममा प्ले कार्ड बनाउने क्रममा सघाएको, परालको चाङ बनाएर पुरेर राखेको, संगठनको कामको प्रगति र खाए नखाएको बरोबर ख्याल गर्ने लगायत प्रसङ्गबाट सरस्वतीले सासूको स्थानमा आफ्नै आमा पाएको अनुभुति पाठकलाई गराउँछ । “मेरी सासू पनि यस्तै भए ?” कामकाजी महिलाको मुख बाट अनायासै यो शब्द बाहिर आउँछ ।

“आशा भन्दा निराशा धेरै बोकेर म टिफिन टाईममा मदनपोखरा स्कुल छाडेर हिडेँ। लगाएको एक जोर कपडा र कक्षा ६ का केही किताब बाहेक म संग त्यतिबेला केही थिएन । थियो त अलिकति अन्योल, अलिकति परिवारसंग विछोडिएको पीडा र अलिकति जे त होला टर्ला भन्ने आँट मात्र ।” (पृष्ठ १७)

अध्ययनका क्रममा ठोकिन आएका अनुहारहरु विष्णु पौडेल, सिद्धिनाथ ज्ञवाली, गोपाल शाक्य, लक्ष्मण घिमिरेसंगको साक्षात्कारले उनीसंग नजानिदो र आकस्मिक ढंगले राजनितिक चासोको बीउ रोप्यो । तानसेन, महेन्द्र बोधी स्कूलमा कक्षा ९ मा पढ्दा बाटै उनी संगठित हुन थालिन् राजनीतिमा ।

वर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली (शशी, सागर) संगको उनको प्रेम साहृै शालीन रहेको पाइन्छ । प्रदीपलाई कतै अप्ठ्यारो नपरोस्, विरामी नहुन् भन्ने सद्भाव नै उनीप्रतिको सरस्वतीको प्रेम थियो । धपडीका बीच टीका र माला साटासाट पछि त्यो शालिन पे्रम विवाहमा रुपान्तरित भएको थियो । “चिठ्ठी संग हनिमुन र सुहागरात ” अहिलेका पुस्तालाई दन्ते कथा झै लाग्दछ ।

महिला जागरण र शिक्षाको चेतना संगै गुल्मीमा अनेम संघको कमिटी बनाउने हुटहुटी, पराईघर जादाको कष्ट, पीडा र अन्र्तर्यमा डर, भय विविध आंशकाको हुण्डरी । “बंगालको खाडी र अरब सागरबाट एकसाथ मिसिएर बायु आयो भने नेपालमा के हुन्छ ?” पहिलो पटक प्रदिप ज्ञवालीको घर जादै गर्दा सरस्वतीले यस्तै अनुभव गरिन् ।

घरको बुहार्तन सँगै वामपन्थी आन्दोलनमा सक्रिय उनको भूमिका, कार्यशैली सबैप्रति आउने गरेका टिप्पणीले तात्कालिन समाजका महिला प्रतिको दृष्टिकोण र अन्धविश्वासको उचाईलाई स्पष्ट पार्छ । साथै आत्मकथामा लेखिकाले श्रीमान्, तात्कालिन परिस्थिति, अपाङ्ग छोरी, सासू आमा आदिलाई स्थान दिएकी छन् । तर आफु भित्रको म पात्र मौन छ । यसले मात्र लेखिकाको नभई तात्कालीन समयमा राजनीतिमा सक्रिय महिलाले सामना गर्नुपरेका चुनौतिको तस्वीर देखाएको छ ।

“सयौं मान्छे जुटाएर भाषण नगरेर रातिमा यति थोरै मान्छेका बीच कमिटी गठन गर्न आउने ?-पृष्ठ १०३) बच्चा बोकेर अनेम संघ गठनका लागि जाँदा आफ्नै नेताले यसो भनेपछि उनको मन दुख्यो । बच्चा बोकेर आउने “मादलेहरु” भनेर खिसिट्युरि आफ्नैबाट हुन्थ्यो । यी दृष्टान्त काफी छन् तात्कालिक समयमा महिलाको राजनीतिक भुमिकाको योगदानमाथिको बुझाईका लागि । यद्यपि उनी कहिलेकाही थाकिनन् । २ बर्षमा बल्ल-बल्ल अनेम संघ स्थापना गरिन् ।

जन्मघरदेखि सुरु भएको अधिकारको लडाईलाई विवाह पश्चात पनि जारी नै राखिन् । तर अहिले उनको योगदानको चर्चा कहि छैन । परिवार भित्र मात्रै सीमित भएको छ उनको दिनचर्या ।

बाल्यकालको धेरै समय मामाघरमा बिताएकी सरस्वतीलाई हजुरबुबाले नेता बन्छ्यौ कि भन्दा मास्टर्नी बन्ने चाहाना व्यक्त गर्थिन् । सपनालाई प|mायडले अतृप्त चाहनाको छद्मपूर्ति भनेका छन् । उनको मास्र्टर्नी बन्ने सपना पनि त्यस्तै भयो । हुन त २००७ साल देखिको नेपाली समाजको कायाकल्पको सपना पनि त त्यस्तै भएको छ । २०४६ साल, अनि २०६२/६३ मा पनि सपना देखे फेरी उस्तै । अहिले फेरी मिठो सपनामा छ नेपाली समाज । लालटिनको उज्यालोमा नेपाली समाजको सपनालाई दलिय स्वार्थको भुमरीमा नपार भन्ने सन्देश पनि दिईएको छ ।

“म पार्टीमा लागेको २०४६ साल अघि कमरेडहरुको अनुशासन र पार्टी प्रतिको आस्था र विश्वासले हो । भोली नेतासंग बिहे होला, श्रीमान् सांसद मन्त्री बन्नलान्, घर बनाउँला, एनजीओ खोलुला, सम्पत्ति जोडुँला भनेर आन्दोलनमा लागेको होइन ।….संगठनमा लाग्नु भनेको जनताको सेवा गर्नु हो । ” (पृष्ठ ५४)

भोकै बसेर पनि स्वाभिमान बचाउदै आएकी सरस्वती बजारमा स्वाभिमान गुमाउदै लोभमा फसेका कमरेड देखेर पार्टी सम्भिmन्छिन् । राजनीतिको सही मर्म भन्दा भिन्न देखिएका कमरेडका व्यवहारप्रति उनको कडा आपत्ति र विद्रोह छ अहिले पनि । यसलाई मात्र सरस्वती ज्ञवालीको बैयक्तिक विचार मात्रै भनेर संकुचित विश्लेषण गर्न सकिदैन । यसबारे दलको नेतृत्वलाई समीक्षा गर्न दबाब दिएको छ आत्मकथाले ।

राजनीतिककर्मीको परिवार सबैकुराले सम्पन्न हुन्छन् भन्ने आम बुझाईलाई ५७ जना साथीसंग ऋण सापटी लिएर बुटबलमा एकतले घर बनाएको र भक्तपुरको बालकोटामा घर किन्दा लिएको ऋणको सन्र्दभले गलत प्रमाणित गरेको छ ।

साथै यसले सुविधाभोगी नेताहरुलाई स्वाभिमानी बन्न पाठ पनि सिकाएको छ । समग्रमा संघर्ष र चुनौतीलाई समाना गर्दे जीवन बाँच्ने प्रेरणा पनि यसले दिएको छ ।

प्रदीप ज्ञवालीमाथि भएको सांघातिक आक्रमण, सांसद बन्दा, मन्त्री बन्दा, घर बनाउदा, घरको छानो उडाउँदा लगायत दुख र सुखमा उनी एक साथ अघि बढीन् । न आत्तिईन् न मात्तिईन् न त पदीय दुरुपयोग गरिन् ।

लालटिनको उज्यालो पढ्दै गर्दा कामकाजी महिलालाई आफ्नै पीडा लिपिबद्ध गरे जस्तै लाग्छ । यो एउटी महिलाले गरेको पारिवारी जिम्मेवारी बोधको उत्कृष्ट उदाहरणको दस्तावेज पनि हो ।

“कलमको मसीले होइन यो मेरो आत्माको आँसुले लेखेको हो ।” लालटिनको उज्यालोमा विमोचनमा लेखक स्वयम् ले भनेकी छन् ।

img

Share:
Tags