• img
  • img
img img img
Categories
शिक्षा समाचार

परीक्षा र मूल्यांकनमा ट्रेडयुनियन अधिकार हुँदैन – मन्त्री पोखरेल

img

भक्तपुर । शिक्षा, विज्ञान तथा प्राविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको परीक्षा, मूल्यांकनमा ट्रेड युनियन अधिकार नहुने बताएका छन् ।
कुनैपनि बहानामा एसइइ परीक्षाको नतिजा त्रुटिमा प्रकरणमा दोषि उम्कन नदिइने भन्दै मन्त्री पोखरेलले त्यस क्रममा कर्मचारीहरुको ट्रेड युनियन अधिकार आफूलाई स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।


राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले विद्यार्थीको जीवनमा खेलवाड गर्ने अधिकार कसैलाई नभएको जिकिर गरे । परीक्षाबोर्डले परीक्षा व्यवस्थापनमा यस्तै त्रुटि गर्दै गए परीक्षा र मूल्यांकनको जिम्मा अन्य विश्वासिलो संगठनलाई समेत दिन सक्ने शिक्षा मन्त्रीले स्पष्ट पारे ।

अब हिजोको ढंगले काम नचल्ने भन्दै उनले अब नयाँ ढंगले काम गर्नुपर्ने बताए । हिजो पुरानै घोकन्ते विधिबाट पढ्ने विधि अपनायौं, सिकाइ राम्रो भएन अब नयाँ शिक्षण र सिकाइ विधिमा जानुको विकल्प छैन । मन्त्री पोखरेलले भने– प्रविधि र विज्ञान नयाँ हाम्रो सोचाइ पुरानो हुने स्थिति आउन दिँदैनौं । संघीयतामा शिक्षा केन्द्रीय ढंगले मात्रै हरे भन्न नहुने भन्दै उनले शिक्षाको सिकाइ सुधारमा सवै गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले प्राविधिक सिस्टममा आएको गडबडीका कारण एसइइ नतिजामा केही त्रुटि देखिएपनि तत्कालै समाधान गरिएकाले यसलाई ठूलो विषय बनाउन नहुने बताए ।


अब परीक्षा बोर्ड दीर्घकालीन सुधारको रणनीति बनाएर अघि बढ्न खोजिरहेको भन्दै अध्यक्ष पौडेलले परीक्षालाई आगामी दिनमा अझै विश्वसनीय र वैज्ञानिक बनाउने प्रतिवद्धता व्यक्त गरे । परीक्षा र मूल्यांकनलाई वैज्ञानिक बनाइने, सवैकामलाई अनलाइन प्रणालीमा लगिने, उत्तरपुस्तिका परिक्षणको कमजोरी हटाउन वारकोड पद्धति लागुगर्ने योजनामा बोर्ड रहेको पौडेलले स्पष्ट पारे । ‘नतिजामा त्रुटि हुनुहुदैन्थ्यो भयो, फेरी नहुने आश्वस्त पार्न चाहन्छौं’– पौडेलले भने, ‘अब बोर्डका काम विश्वासयोग्य र वैज्ञानिक हुन्छ ।’
परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बोर्ड निरन्तर परीक्षा र मूल्यांकन सुधारमा लागिरहेको बताए । उनले बोर्ड स्थापना भएदेखि हालसम्म भएगरेका कामको उपलब्धि र आगामी दिनका कार्ययोजना प्रस्तुत गरेका थिए ।

बोर्डका सदस्य अमूदा श्रेष्ठले बोर्डले १४ लाख विद्यार्थीलाई ३४२ कर्मचारीबाट व्यवस्थापन गर्न परेकाले सोचे जस्तो काम गर्न नसकिएकाले तत्काल कर्मचारी व्यवस्थापन हुनुपर्ने बताइन् । थोरै कर्मचारीका वावजुद बोर्डले ठेलेर पेलेर काम गर्दै आएको भन्दै श्रेष्ठले बोर्डको पुनर्संरचनाका लागि कर्मचारी थप हुनुपर्ने बताइन् ।

२०७२ असार १५ गते संसदबाट शिक्षा ऐनको आठौं संशोधनभएसँगै सोही ऐनको व्यवस्था अनुसार परीक्षा बोर्डको स्थापना भएको थियो । यसबीच बोर्डले परीक्षा सञ्चालन र नतिजा प्रकाशन सँगै अन्य केही कामसमेत गर्दै आएको छ ।
र्बोर्डले यस बीच कोव्सेको अन्तर्राष्ट्रिय परीक्षा बोर्डहरुको ४६ औं सम्मेलन, कर्मचारीहरुलाई दक्षता अभिवृद्धि गर्न सफ्टवेयर सम्बन्धी तालीम, प्रश्नपत्र निर्माण तथा व्यवस्थापन, अक्षरांकन पद्धति कार्यान्वयन, प्रअ तथा परीक्षा हेर्ने कर्मचारीहरुलाई परीक्षा व्यवस्थापन सम्बन्धी कार्यशाला एवं गोष्ठि सम्पन्न गरेको छ ।

img

Share: