सुमन राई
कञ्चनरूप । सप्तरीमा विभिन्न कार्यक्रम आयोजना गरी ३२औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाइएको छ। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् सप्तरीको आयोजनामा जिल्लाका विभिन्न स्थानबाट आएका आदिवासी जनजाति समुदायको सहभागितामा दिवस मनाइएको हो।

अग्नीसाइर कृष्णासवरन गाउपालिका २ सीतापुर स्थित ग्रीनगार्डेन रिसाेर्टमा आयोजित कार्यक्रममा दिवसका अवसरमा सहभागीहरूले विभिन्न नारासहित र्याली प्रदर्शन गरेका थिए। र्यालीमा विभिन्न जातजातिका मौलिक भेषभूषामा सजिएका महिला तथा पुरुषको उल्लेख्य सहभागिता रहेको थियो। र्यालीपछि आयोजित कार्यक्रममा आदिवासी जनजाति समुदायको भाषा, धर्म, संस्कृति, परम्परा र मौलिक पहिचान झल्काउने गीत, संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथी अग्नीसाइर कृष्णासवरन गाउपालिकाका अध्यक्ष दिनानाथ चाैधरीले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा र अधिकार संरक्षणका लागि राज्यले प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। चाैधरीले नेपालको विविधताभित्र रहेका सबै जातजाति र समुदायको समान सम्मान तथा अधिकार सुनिश्चित गर्नुपर्ने बताए।
साे अवसरमा वक्ताहरूले आदिवासी जनजातिको मौलिक संस्कृति र पहिचान संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार र परम्पराबारे जानकारी गराउन आवश्यक रहेको धारणा व्यक्त गरे। दिवसले विभिन्न समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले ३२औँ विश्व आदिवासी दिवसको शुभकामना दिँदै आदिवासी जनजातिको हक, अधिकार र पहिचान संरक्षणका लागि निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिएका थिए।
आदिवासी जनजाती महासंघ प्रदेश समन्वय परिषदका उपाध्यक्ष दील कुमारी चाैधरी, पूर्व बिधायक सरस्वती चाैधरी, आदिवासी जनजाती जिल्ला समन्वय समितिका उपाध्यक्ष बेचन प्रसाद चाैधरी, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका कार्यवाहक सचिव डम्बर राईले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै शुभकामना मन्तव्य दिनेहरूमा जिल्ला समन्वय परिषदका पूर्व अध्यक्षहरू क्रमश: बृजमान तामाङ, महेन्द्र प्रसाद चाैधरी, संस्थापक अध्यक्ष रघुसिंह थारू, यम बहादुर खपाङ्गी मगर र विभिन्न जातिय संगठनका अध्यक्षहरू थिए ।