• img
  • img
img img img
Categories
प्रदेश समाचार

गाउँ आफैँ बनाउने सोचले युवाले जडान गरे सडकबत्ती

img

सुमन राई
कञ्चनरूप, २८ साउन । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने सोच र भावनासहित सप्तरीको कञ्चनरूप नगरपालिका–१२ बस्तिपुरका युवाले गाउँको मुख्य सडकमा बिजुली बत्ती जडान गरेका छन्। सर्जना क्लबको खर्चमा मुख्य सडक क्षेत्रमा एक दर्जन सडकबत्ती जडान गरिएको क्लबका अध्यक्ष मञ्जील श्रेष्ठले जानकारी दिए।
उनका अनुसार नगरपालिकाबाट गाउँको मुख्य सडकमा सडकबत्तीको व्यवस्था नहुँदा स्थानीयलाई रातको समयमा आवतजावत गर्न समस्या हुँदै आएको थियो। स्थानीयको समस्यालाई ध्यानमा राख्दै क्लबले आफ्नै खर्चमा बत्ती जडान गरेको उनले बताए।
श्रेष्ठका अनुसार क्लबले गत वर्ष पनि सडकमा बिजुली बत्ती जडान गरेको थियो। तर, जडान गरिएका केही बत्ती फ्युज भएका तथा केहीको प्रकाश कम भएकाले पुनः नयाँ बत्ती जडान गरिएको हो।
स्थानीय समाजसेवी अरुणकुमार श्रेष्ठ र बिन्द्र राईले वडा तथा पालिकाबाट उपेक्षित यस गाउँमा युवा तथा क्लबको सक्रियतामा विगतदेखि नै सडकबत्ती जडान तथा सरसफाइका काम हुँदै आएको बताए। यस्ता गतिविधिले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने मूल सन्देश प्रवाह गरेको उनीहरूको भनाइ छ।
मुकुन्द श्रेष्ठ, जीवन श्रेष्ठलगायत युवाहरूको सक्रियतामा सामाजिक तथा सार्वजनिक हितका काम हुँदै आएको जनाइएको छ। लोकमार्गबाट उत्तरतर्फ दुई किलोमिटरभन्दा बढी दूरीमा वन क्षेत्रनजिक रहेका यी बस्तीमा जङ्गली हात्ती आइरहने भएकाले सडकबत्ती अत्यावश्यक रहेको स्थानीयले बताएका छन्।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी