सुमन राई
कञ्चनरूप, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनरूप नगरकमिटी र वडा नं. ८ कमिटीको संयुक्त आयोजनामा स्वर्गीय शत्रुघन प्रसाद यादवको नवौँ पुण्यतिथिका अवसरमा बुधबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्व. यादवको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छ अर्पण गर्दै उपस्थित नेता तथा कार्यकर्ताले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए। सहभागीहरूले स्व. यादवले पार्टी संगठन निर्माण, जनतासँगको सम्बन्ध विस्तार तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका पूर्व पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले स्व. यादवलाई पार्टीका निष्ठावान, इमानदार र जिम्मेवार नेताका रूपमा स्मरण गरे। उनले यादवले पार्टी संगठन सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँको योगदान सधैँ स्मरणीय रहने बताए।
नेता प्याकुरेलले स्व. यादवको निधनले पार्टीले एक सक्षम, अनुभवी र समर्पित नेतृत्व गुमाएको उल्लेख गर्दै उहाँको अभाव आज पनि उत्तिकै महसुस भइरहेको बताए। “उहाँको असामयिक निधनले हामी सबैलाई मर्माहत बनाएको छ। उहाँले देखाएको इमानदारी, समर्पण र संगठनप्रतिको निष्ठा वर्तमान पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ,” उनले भने।

कार्यक्रममा पार्टीका नगर तथा वडा तहका पदाधिकारी, जनप्रतिनिधि, नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले स्व. यादवले देखाएको आदर्श, अनुशासन र जनसेवाको भावनालाई आत्मसात् गर्दै पार्टीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
नगरकमिटीका अध्यक्ष बच्चुलाल चाैधरीकाे अध्यक्षता र नगर सचिव केवल खत्रीद्वारा संचालित कार्यक्रममा प्रदेश कमिटी सदस्य वसन्त मिश्र, असरादेवी चाैधरी, डिक बहादुर बिक. युवासंघका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईन्चार्ज मनिष श्रेष्ठ, लगायतले मन्तव्य राखेका थिए ।
जिल्लाकै साविक गाविस मैनाकडेरी ९ निवासी धनिकलाल र आमा नथुनी देबीकाे काेखबाट २०१९ साल साउन २ गते जन्म भएकाे थियाे । नेपालगंजकि राधिका कुमारी थापा र यादवबाट छाेरा गितेश कुमार र छाेरी रञ्जुलाई जन्म दिएकाे बताइएकाे छ । उनकाे साउन १२ गते मंगलवारकाे दिन ६४ बर्षकाे उमेर निधन भएकाे हाे ।