कञ्चनरूप, ५ असोज । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ स्थित धर्मेश्वर अस्पतालमा सुत्केरी गराउन आएकी महिलाको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै करिब चार घण्टा घेराउ गरेका छन्।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ की २८ वर्षीया निर्मला चौधरीको मृत्यु भएपछि आक्रोशित आफन्तले सोमबार बिहान अस्पताल परिसरमा शव राखेर प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा अस्पतालमा तोडफोड गर्नुका साथै सडकमा आगो बालेर सडक अवरुद्ध गरिएको थियो।
मृतकका बुवा घुरन चौधरीका अनुसार निर्मलालाई भदौ २ गते दिउँसो २ बजे प्रसूति गराउन धर्मेश्वर अस्पताल भर्ना गरिएको थियो। सोही दिन साँझ उनको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि अत्यधिक रक्तचाप बढेपछि उनलाई थप उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल रेफर गरिएको थियो।
छिन्नमस्ता अस्पतालमा सोही साँझ भर्ना गरिएकी निर्मलालाई त्यहाँ उपचार सम्भव नभएको भन्दै भोलिपल्ट विराटनगरस्थित विराट टिचिङ अस्पताल पठाइएको थियो। विराट टिचिङमा उपचारकै क्रममा आइतबार राति करिब ८ बजे उनको मृत्यु भएको बुवा चौधरीले बताए।
चार वर्षीया छोरीकी आमा निर्मलाको दोस्रो सन्तान जन्माउने क्रममा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको पीडित परिवारको आरोप छ। मृतकका श्रीमान् अमित चौधरी वैदेशिक रोजगारीमा रहेको र घटनाको जानकारी पाएपछि घर फर्किएर अस्पताल पुगेको केही समयमै पत्नीको मृत्यु भएको स्थानीय समाजसेवी विष्णुदेव चौधरीले बताए।
मृतकका आफन्तले शल्यक्रियामा लापरबाही भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। सोमबार बिहान करिब ८ बजे शव धर्मेश्वर अस्पताल ल्याएर अस्पताल परिसरमा राख्दै आफन्तले प्रदर्शन गरेका थिए।
अबेर दिउँसो प्रमुख जिल्ला अधिकारीको पहलमा छानबिन समिति गठन गरी आगामी बुधबार ७ गते पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको बताइएको छ।
छानबिन समितिले घटनाको सत्यतथ्य पत्ता लगाई दोषी देखिए कानुनबमोजिम कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्ने सहमति भएको छ।
यता माननीय खगेन्द्र कर्णले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने बताउँदै पीडित परिवारले न्याय पाउनुपर्नेमा जोड दिएका छन्।
यता अस्पतालमा घटनाबारे बुझ्न सम्पर्क गर्दा सम्पर्कमा कोहि आएनन ।