कञ्चनरूप ६ असोज । नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनको रकममा कटौती हुने गरी सरकारले कार्यविधि संशोधन गरेको भन्दै विरोध जनाएको छ ।
महासंघको घोषित आन्दोलनअन्तर्गत मंगलबार देशभरका जिल्ला हुलाक कार्यालयमा एकसाथ ज्ञापनपत्र बुझाइएको हो । सोही क्रममा नेपाल पत्रकार महासंघ सप्तरी शाखाले पनि जिल्ला हुलाक कार्यालय सप्तरीका प्रमुख पुरुषोत्तम साहलाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले ज्ञापनपत्र बुझाउँदै छापा माध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको मासिक रकममा भारी कटौती हुने गरी कार्यविधि संशोधन गरिएकोप्रति आपत्ति जनाएको हो ।
ज्ञापनपत्रमा आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसदबाट पारित भई कार्यान्वयनमा आइसकेको अवस्थामा बजेटमा व्यवस्था गरिएको रकमसँग बाझिने गरी सरकारले कार्यविधि ल्याएको उल्लेख छ ।
यस्तो व्यवस्थाले सञ्चार माध्यमप्रति सरकारको दृष्टिकोण अनुदार रहेको महासंघको बुझाइ रहेको जनाइएको छ ।
महासंघले संशोधित कार्यविधि खारेज गरी बजेटमा व्यवस्था भएअनुसार लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध गराउन माग गरेको छ । साथै, महासंघको माग सम्बोधन नभएसम्म लोककल्याणकारी विज्ञापनबापतका बिल नबुझ्न जिल्ला हुलाक कार्यालयलाई आग्रह गरेको छ ।
विज्ञापन बोर्डले महासंघको आग्रह बेवास्ता गर्दै लोककल्याणकारी विज्ञापनबापतको बिल बुझ्ने प्रक्रिया अघि बढाएको जानकारी प्राप्त भएको भन्दै महासंघले त्यसप्रति समेत आपत्ति जनाएको छ ।
माग सम्बोधन नभए घोषित कार्यक्रमअनुसार थप आन्दोलन गर्न बाध्य हुने चेतावनी दिँदै महासंघले ज्ञापनपत्रमार्फत उक्त विषय माथिल्लो निकायमा समेत जानकारी गराइदिन जिल्ला हुलाक कार्यालयलाई आग्रह गरेको छ ।