सुनिता मगराती
लहान ६ असोज । सप्तरी र सिरहामा आगामी शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार उत्तर अण्डमान समग्र तथा आसपास विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भाग आसपास रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’का रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले बुधबारदेखि नै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
¾ŕ
fभारी वर्षाका कारण बाढी, पहिरो तथा तराईका सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भन्दै प्रशासनले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।
प्रशासनले अत्यावश्यकबाहेक टाढाको तथा रातिको समयमा यात्रा नगर्न, खोला तथा नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आकस्मिक बाढी आउन सक्ने खोला, खहरे, नदी किनार, पहिरोको जोखिमयुक्त स्थान तथा होचा भूभागमा विशेष सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपदमा सहयोग माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० तथा सशस्त्र प्रहरी बलको हटलाइन १११४ मा सम्पर्क गर्न प्रशासनले जनाएको छ।
नेपाल मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी नियमित रूपमा लिनसमेत प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
सप्तरीमा सूचना सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश महतो र सिरहामा निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सूचना जारी गरेकाे हाे ।