• img
  • img
img img img
Categories
समाचार सुचना प्रविधि

वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका अपरिहार्य

img

‎कञ्चनरूप,९ असोज । वन्यजन्तु अपराध नियन्त्रण, संरक्षण तथा जैविक विविधताको प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको राजविराजमा शुक्रबार आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन्।

‎राष्ट्रिय कोशी संरक्षण कोष, कोशी संरक्षण केन्द्र पश्चिम कुसाहा, सुनसरीको आयोजनामा राजविराजस्थित आइगार्डेन होटलमा ‘वन्यजन्तु अपराध नियन्त्रणमा मिडियाको संलग्नता र जागरण’ विषयक कार्यशाला गोष्ठीमा यस्ताे बताएका हुन् ।

‎

‎कार्यक्रममा डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले सप्तरीमा वन तथा वन्यजन्तुको वर्तमान अवस्था, वन्यजन्तुबाट हुने मानवीय तथा अन्य क्षतिका विषयमा जानकारी गराए। उनले वन तथा वन्यजन्तु संरक्षणमा सरकारी निकायले गरिरहेको प्रयासलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको थप सहकार्य आवश्यक रहेको बताए।

‎‘वन तथा वन्यजन्तु संरक्षण, जैविक विविधता र पर्यावरण सुरक्षाका विषयमा पत्रकारितामार्फत जनचेतना अभिवृद्धि गर्न सकिन्छ,’ ठाकुरले भने, ‘यसका लागि सञ्चारकर्मीलाई संरक्षण अभियानसँग जोड्न आवश्यक छ।’

‎राष्ट्रिय कोशी संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताए। उनले वन्यजन्तुसम्बन्धी समाचार सत्यतथ्यमा आधारित, सरल र शिष्ट ढंगले सम्प्रेषण हुँदा जनविश्वास बढ्ने बताए।

‎गौतमले वन्यजन्तुको आनीबानी र स्वभावबारे जानकारी हुनु आवश्यक रहेको उल्लेख गर्दै कुन अवस्थामा वन्यजन्तुबाट जोखिम हुन सक्छ भन्ने विषयमा प्रस्तुतीकरण तथा भिडियोमार्फत जानकारी गराए। वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरणका लागि प्रभावित क्षेत्रका बासिन्दा स्वयं पनि सचेत र सावधान हुनुपर्ने उनको भनाइ थियो।

‎कोशी टप्पु वन्यजन्तु आरक्षकी निमित्त कार्यालय प्रमुख प्रतिभा सिवाकोटीले आरक्षभित्र संरक्षण गरिएका हात्ती, गैँडा, अर्नालगायत वन्यजन्तुको अवस्थाबारे जानकारी दिइन्। उनले संरक्षित क्षेत्रबाहिर वन्यजन्तुबाट हुने धनजनको क्षतिमा कानुनमा तोकिएबमोजिम राहत उपलब्ध गराउँदै आएको बताइन्।

‎पीडितलाई राहत तथा सहयोगमा सहज पहुँच सुनिश्चित गर्न सञ्चारकर्मीको सकारात्मक भूमिका आवश्यक रहेको सिवाकोटीले बताइन्।

‎राष्ट्रिय कोशी संरक्षण कोष, कोशी संरक्षण केन्द्रका वरिष्ठ संरक्षण शिक्षा सहायक सञ्जीव धमलाले कार्यक्रमको उद्देश्य र वन्यजन्तु संरक्षणमा सञ्चार क्षेत्रको भूमिकाबारे प्रकाश पारे।

‎कार्यक्रमका अध्यक्ष नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणका विषयमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

‎कार्यक्रममा सञ्चारकर्मीहरूले सप्तरीमा जङ्गली हात्ती, बाँदर, अर्ना, बँदेललगायत वन्यजन्तुबाट भइरहेको क्षति, स्थानीयमा परेको प्रभाव तथा वन्यजन्तु नियन्त्रण र व्यवस्थापनमा सरकारी निकायको भूमिकाबारे जिज्ञासा राखेका थिए।

‎डिभिजन वन कार्यालय सप्तरीका रेन्जर दीपक टमटाको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ संरक्षण शिक्षा सहायक धमलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा वन तथा वन्यजन्तुसम्बन्धी सरोकारवाला तथा सञ्चारकर्मीको सहभागिता थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी