सप्तरी । राजविराज जेसीजले राजविराजमा फरक ढंगले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण जमघट, भेला नगर्न स्थानीय प्रशासनले अनुरोध गरेपछि जेसीजले फरक ढंगले दिवस मनाएको हो ।
राजविराजस्थित गजेन्द्र चोकमा दुई हातको दुरीमा उभिएर सहभागीहरुले प्लेकार्डसहित प्रदर्शन गरे । दिउँसो १२ः३० देखि १ः३० बजेसम्म चोकको वरिपरी उभिएका जेसीजका पदाधिकारीहरुलाई साथ दिदै अधिकारकर्मी र कानून व्यवसायीहरुले समेत सहभागिता जनाए । ‘समानताको पुस्ता अन्त्य गरौं हिंसा, विभेद र असमानता’ राष्ट्रिय नारासहित सहभागीहरुले अन्तर्राष्ट्रिय नारा ‘…I am a Generation Equality Realizing Women’s Rights को प्लेकार्ड बोकेका थिए । उनीहरुले ‘११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं’, ‘महिला रोकिए, संसार रोकिन्छ’, ‘महिला अधिकार, मानव अधिकार’, ‘समान सोंच र व्यवहार, समृद्धिको आधार’, ‘पाइला हाराहारी, हिस्सा बराबरी’, ‘कुरा होइन काम गरौं, महिला हिंसा अन्त्य गरौं’, ‘अंश र वंशमा समान अधिकार’, ‘सम्पतिमा दम्पति बराबर’, ‘लैङ्गिक विभेदको अन्त्य, समृद्ध नेपालको गन्तव्य’, नाराअंकित प्लेकार्ड बोकेर एक घण्टासम्म चोकमा उभिएर प्रदर्शन गरे ।
नेपाल सरकार र स्थानीय प्रशासनले सूचना जारी गर्दै कोरोना भाइरसबाट जोगिन उच्च सतर्कता अपनाउन र्याली, भेला, जमघट, अन्तरक्रियालगायतका मानिसको भीडभाड हुने कार्यक्रम स्थगन गर्न अनुरोध गरेपछि कार्यक्रमको स्वरुप फरक पारिएको जेसीजले जनाएको छ ।
विश्वभरि फैलिरहेको कोरोना भाइरसका कारण सरकारले स्वास्थ्य सतर्कतालाई प्राथमिकतामा राख्न आग्रह गरेकाले भेला, अन्तरक्रिया र सडक नाटक स्थगित गरी समयानुकूल कार्यक्रम गरिएको राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले बताउनु भयो ।
जिल्ला बार एकाईका सहसचिव रञ्जिता रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटा, अधिवक्ता मनु खनाल, मैथिली महिला परिषद्की प्रतिमा देवलगायतको उपस्थिती रहेको थियो ।
अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले पहिलोपटक आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयकाविरुद्ध सडक आन्दोलन गरेका थिए । सन् १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरेका थिए ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाइन्छ । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् ।
महिला मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा डेनमार्कको कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन गरेको प्रस्तावलाई सम्मेलनले पारित ग¥यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसेको हो । महिला दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिदै आएको छ ।