सप्तरी । गाउँकै एक केटीसँगको बोलचल बस उठ सम्बन्धका कारण केटीका आफन्तहरु मिलेर छोराको हत्या गरेको सप्तरीको रुपनी गाउँपालिका ३ कटैयाका शिवनारायण मालीको आरोप छ । उनले आफ्नो १४ वर्षीय छोरा अकलेश मालीको हत्या गरी गाउँमै भुण्डयाएको दाबी गरेका छन् । उनका छोरा अकलेश गत फागुन ६ गते राती आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
सो राती घरमा खाना खाएर हजुरआमाको कोठामा मोबाइल चलाएर बसेको अवस्थामा छोराले एकाएक केही समयमा आउछु भनेर मोबाइलसहित घरबाट निस्केर गएको विज्ञप्तीमा उल्लेख गरिएको छ । धेरैबेरसम्म फर्केर नआएपछि छोराको मोवाइलमा सम्पर्क गर्दा फोन जाने तर फोन नउठेपछि रातभरी निजका साथीभाइसहित गाउँलेले चारैतर्फ खोजतलास गर्दा पनि नभेटेको बताइएको छ ।

तर, सोही दिनको बिहान आपँको रुखमा साडीको पासो लगाई दुबै खुट्टा भुइँमा छोइएको अवस्थामा मृत फेला परेको जानकारी गराइएको छ । उनको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पोष्टमार्टम गरी शिवनारायणका दाजु बैजनाथ मालीसँग प्रहरीले के कस्तो कागज लेखाइ सही छाप गराइ जिम्मा लगाएको उनको कथन छ ।
छोरा अकलेशको गाउँकै एक मण्डल थरकी केटीसँग मोबाइलमा धेरै पटक एसएमएसमार्फत सर्म्पक तथा कुराकानी भएको भन्दै विज्ञप्तीमा सोही कारण केटीका आफन्तहरु मिलेर छोराको कुटपिट गरी मारेर आँपको रुखमा झुण्डयाएको बुवा शिवनारायणले दाबी गरेका छन् ।

मोवाइलमा छोरा र केटीको मोबाइलको सिम, एसएमएस र घटनाको बारे केटीको भिडियो अडियोको पेन ड्राइभको डिटेलसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरेको शिवनारायणले दाबी गरेका छन् । घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कारबाही गरी न्यायको लागि पहल गरी दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।
मालीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै न्यायाका लागि अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, सम्पूर्ण पेशाकर्मीसँग अनुरोध गरेका छन् । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले उजुरी नलिएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।