काठमाडौं । नेपालमा सोमबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ सप्तरी १ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सप्तरी जिल्लामा एक जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, रुपन्देही सम्मरीमाई गाउपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका (६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरूष रहेका छन् भने बर्दिया राजापुर–५ की ११ वर्षीय बालिका छिन्।
योसँगै नेपालमा संक्रमित संख्या १३४ पुगेको छ। जसमध्ये ३३ जना निको भएर फर्कीएका छन्। कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो । बर्दिया र सप्तरीमा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।