राजविराज । सप्तरीमा एक जना युवकमा कोरोना संक्रमण देखिएपछि डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोललाई सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरका अनुसार सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोललाई सिल गर्ने निर्णय गरेको हो ।
संक्रमित युवालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ भने उनका परिवारसहित उनका सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गरिने प्रवक्ता ठाकुरले बताए ।
चितवनबाट पैदल सप्तरी पुगेका थिए संक्रमित युवक
डाक्नेश्वरी नगरपालिका–३ तरही हटैलका एक १८ वर्षीय युवकमा सोमवार कोरोना संक्रमित भएको पुष्टि भएसँगै स्थानीयहरुमा त्रास फैलिएको छ । संक्रमित युवक साढे २१ घण्टाभन्दा बढी समयसम्म गाउँमा घुमफिर गरेको खुलेपछि सो स्थानमा त्रास फैलिएको हो ।
वैशाख १० गते कान्तचन्द्र माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनमा पठाइएको युवकको स्वास्थ्य कार्यालय सप्तरीबाट खटिएको टोलीले २६ गते थ्रोट स्वाब संकलन गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । उनलाई होम क्वारेन्टाइनमा बस्न प्रतिवद्धता गराएर आइतवार दिउँसो साढे ५ बजेतिर डिस्चार्ज गरेको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
कोरोना परीक्षणको रिपोर्ट आउनुअघि नै क्वारेन्टाइनबाट उनलाई फर्काएपछि ती युवक गाउँमा घुमफिर गरी विभिन्न व्यक्तिसँग सम्पर्कमा आएको तथा तरहीस्थित करिब १ सय भन्दाबढी व्यक्ति सहभागी रहेको हटियामा पुगेर सरसमान खरिद गरेको स्थानीयले बताए ।
साढे २१ घण्टा उनी घर परिवार र छरछिमेक तथा हटियामा सहभागी रहेको अधिकांश व्यक्तिको सम्पर्कमा आएकोले उनको परिवारका सदस्य र छरछिमेकका व्यक्तिहरुलाई तत्काल क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयहरुले जोड दिए । यसैगरी हटियामा संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान हुनुपर्ने आवश्यकता रहेको स्थानीयहरुको भनाई छ ।
उनमा कोरोना संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिउँसो पौने २ बजेतिर पुष्टि गरेपछि संक्रमित युवकलाई सम्पर्कमा ल्याउन प्रहरी र स्वास्थ्य कार्यालयले सक्रियता बढाए । करिब ३ बजेतिर उनी सम्पर्कमा आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको डाक्नेश्वरी नगरपालिका–३ का अध्यक्ष प्रदिपकुमार साहले बताए ।
उनको स्वास्थ्य अवस्थामा समान्य रहेको तथा हाल आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए ।
संक्रमितसँगै आएका १२ जना पनि क्वारेटाइनमा छैन्
चितवनमा मजदुरी गर्न गएका संक्रमित युवकसँग गत वैशाख ९ गते हिडेरै घर आउनेमा १ जना विष्णुपुर गाउँपालिकास्थित कट्टि निवासी र ११ जना तरहीकै गरी अन्य १२ जना पनि छन । तर, उनीहरुमध्ये ८ जनालाई यसअघि नै डिस्चार्ज गरिसकेका छन भने संक्रमितसहित ४ जनालाई आइतवारै डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ती सवै व्यक्ति गाउँमा घुमफिर गरिरहेको स्थानीयहरुको भनाई छ ।
उनीहरुलाई पनि १० गते नै क्वारेन्टाइनमा पुर्याइएको थियो । जसमा ५ जनाको र्यापिड डाइग्नोटिक टेष्ट ९आरडिटी० गरिएको थियो । बाँकी संक्रमित युवकसहित अन्य ८ जनाको २६ गते स्वास्थ्य कार्यालय सप्तरीबाट खटिएको टोलीले स्वाब संकलन गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । जसमा ७ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमितको परिवारलाई क्वारेन्टाइन पठाइयो
युवकमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको परिवारका तीन जना सदस्यलाई क्वारेन्टाइनमा पठाइएको छ । उनकी हजुरआमा, हजुरबुवा र आमालाई क्वारेन्टाइनमा पठाएर थ्रोट स्वाब संकलन गर्ने तयारी थालिएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।
सोमवारै वा मंगलवार विहानसम्म उनीहरुको थ्रोट स्वाब संकलन गरि पठाइसक्ने उनले बताए । संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि यकिन कार्य भइरहेको प्रमुख यादवले जानकारी दिए ।