• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

सरकारी विज्ञापन नीति विरुद्ध पत्रकारहरूको धर्ना

img

डम्बर राई
‎सप्तरी, जेष्ठ २९। नेपाल सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने निर्णय गरेको भन्दै पत्रकारहरूले विरोधस्वरूप धर्ना दिएका छन्।
‎नेपाल पत्रकार महासंघ सप्तरी शाखाको आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीको मूल गेटमा एक घण्टा धर्ना कार्यक्रम सम्पन्न गरिएको हो। महासंघका अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा आयोजित धर्ना बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन गरिएको थियो।
‎धर्नामा सहभागी पत्रकारहरूले सरकारको उक्त निर्णयले निजी तथा स्थानीय सञ्चारमाध्यमको अस्तित्वमाथि गम्भीर असर पार्ने बताएका छन्। उनीहरूले सरकारी विज्ञापनलाई सीमित गरेर सरकारी सञ्चारमाध्यममा मात्र केन्द्रित गर्ने निर्णय प्रेस स्वतन्त्रता, निष्पक्ष प्रतिस्पर्धा तथा लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत रहेको धारणा व्यक्त गरे।
‎पत्रकारहरूले सञ्चार क्षेत्र अहिले नै आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा सरकारले गरेको यस्तो निर्णयले निजी सञ्चारमाध्यम झन् कमजोर बन्ने र श्रमजीवी पत्रकारहरूको रोजगारीसमेत संकटमा पर्ने चेतावनी दिएका छन्। उनीहरूले सरकारले तत्काल उक्त निर्णय फिर्ता लिनुपर्ने मागसमेत गरेका छन्।
‎धर्ना कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले प्लेकार्डसहित सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै सञ्चार क्षेत्रको संरक्षण तथा समान विज्ञापन वितरण नीतिको माग गरेका थिए।
‎महासंघले सरकारको निर्णय नसच्चिए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।

img

Share:
Tags