सुमन राई
कञ्चनरूप, साउन ९ — डिभिजन वन कार्यालय सप्तरीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत सञ्चालन भएका योजनाको स्थलगत अनुगमन गरेको छ। शनिबार पत्रकार, कार्यालयका कर्मचारी, पदाधिकारी तथा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिसहितको टोलीले जिल्लाका विभिन्न स्थानमा पुगेर योजनाको प्रगति, प्रभावकारिता तथा कार्यान्वयन अवस्थाको निरीक्षण गरेको हो।
अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सामुदायिक वन, वृक्षरोपण क्षेत्र तथा वन संरक्षणसँग सम्बन्धित कार्यक्रमहरूको स्थलगत अवलोकन गर्दै सम्पन्न भएका कामको विवरण संकलन गरेको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द्र दासले जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षको वार्षिक प्रगतिअन्तर्गत चालु बजेटतर्फ ८७ प्रतिशत तथा पुँजीगत बजेटतर्फ ६९ प्रतिशत कार्य सम्पन्न भएको छ। बाँकी रहेका कार्यक्रमहरू समेत निर्धारित समयभित्र सम्पन्न गर्ने तयारी भइरहेको उनले बताए।

वन क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले कार्यालयले चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका बिरुवा उत्पादनलाई पनि प्राथमिकता दिएको छ। प्रमुख दासका अनुसार एक वर्षे १ लाख ५० हजार विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिएको छ भने दुई वर्षे ३ लाख ५० हजार बिरुवा उत्पादनको कार्य सम्पन्न भएको छ। ती बिरुवाहरू वृक्षरोपण, वन पुनर्स्थापना तथा हरित क्षेत्र विस्तारका कार्यक्रममार्फत वितरण गरिने जनाइएको छ।
अनुगमनका क्रममा सहभागी पत्रकार तथा उपभोक्ता समूहका प्रतिनिधिहरूले वन संरक्षण, जैविक विविधताको संवर्द्धन तथा सामुदायिक वनको प्रभावकारी व्यवस्थापनमा यस्ता स्थलगत अनुगमनले पारदर्शिता र जवाफदेहिता बढ्ने धारणा व्यक्त गरेका थिए। जिल्लामा रहेका १ सय ३७ वटा सामुदायिक वन, ८८ वटा नीजि वन र सरकारद्वारा व्यवस्थित वन (३१३६.६२ हेक्टर) काे अवस्था र तीनमा गरिएका सम्पूर्ण कार्यक्रम तथा गतिविधिबारे प्रमुख दासले जानकारी गराए । अनुगमनमा विभिन्न वन पैदावारमा आधारित कसुरजन्य कार्य नियन्त्रण तथा कारवाही र स्कुल शिक्षा कार्यक्रमकाे केही बिवरणहरू सार्वजनिक भएकाे छ ।
साे अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले डिभिजन वन कार्यालयले वन बिकास कार्यक्रममा गरेका बिवरण अनुसार राम्राे देखियाे तर जनहीतमा के कस्ताे प्रभाव परेकाे छ? के कस्ता वर्गकाे हीत अनुकुल रहेकाे छ ? साे बारेपनि तथ्याङ्क निर्माण गर्न सुझाव दिए ।
डिभिजन वन कार्यालयले आगामी दिनमा पनि वन संरक्षण, वृक्षरोपण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा सामुदायिक वनको सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। कार्यालयका अनुसार अनुगमनबाट प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समेत समेटिनेछ।
जिल्लाकाे १ लाख २८ हजार १ सय हेक्टर क्षेत्रफल मध्ये २१ हजार १ सय ३६ हेक्टर वन क्षेत्र पर्दछ । जसमध्ये काेशी टप्पु वन्यजन्तु आरक्षमा ७ हजार १४.५० क्षेत्रफल पर्दछ ।