कञ्चनरूप, ३ असोज । जङ्गली हात्तीको समूहले सप्तरीको कञ्चनरूप नगरपालिका–१२ बस्तीपुरमा तीन बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट गरेको छ। शुक्रबार राति बस्तीपुरमा प्रवेश गरेको हात्तीको समूहले स्थानीय किसानको खेतमा पाक्न लागेको तथा गमरा धान खाएर र उखेलेर नष्ट गरेको हो। 
हात्तीले मानबहादुर श्रेष्ठको १५ कठ्ठा, मनकुमार श्रेष्ठको ११ कठ्ठा, मदन श्रेष्ठको ९ कठ्ठा, कृष्णप्रसाद भट्टराईको १२ कठ्ठा, गोपाल श्रेष्ठको ५ कठ्ठा र केशव श्रेष्ठको ८ कठ्ठालगायत किसानको धानबालीमा क्षति पुर्याएको स्थानीयले बताएका छन्।
शनिबार बिहान खेतमा पुगेका किसानले धानबाली तहसनहस भएको देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए। त्यसपछि वडा सदस्य जैनुद्दिन मियाँ घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेका थिए।
वडा सदस्य मियाँका अनुसार हात्तीले गमरा र पाक्ने क्रममा रहेको धान खाएर तथा उखेलेर खेतमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक अवस्थाको क्षति हेर्दा सयौँ मन धान नष्ट भएको अनुमान गरिएको उनले बताए।
स्थानीयका अनुसार कञ्चनरूपको यस क्षेत्रमा जङ्गली हात्तीको समस्या लामो समयदेखि रहँदै आएको छ। वर्षेनी हात्तीले किसानको अन्नबाली नष्ट गर्दै आए पनि समस्या समाधानका लागि स्थानीय सरकारबाट प्रभावकारी पहल हुन नसकेको उनीहरूको गुनासो छ। किसानले हात्ती नियन्त्रण तथा क्षतिको उचित राहत र दीर्घकालीन समाधानको माग गरेका छन्।